यसरी देखायो युद्धग्रस्त सिरियाले अाफ्ना १० लाख नागरीकप्रति मानवता…

एनआरएनपोस्ट संवाददाता
प्रकाशित मिति : १२ भाद्र २०७५, मंगलवार ११:०२

मस्को, १२ भदौ – रसियाका रक्षामन्त्री सर्गेई शोइगुले सुरक्षाका कारण विदेश पलायन हुन बाध्य दश लाख सिरियालीलाई रसियाको सहयोगमा भएको पुनर्निर्माणसँगै स्वदेश फर्काउन सिरिया तयार रहेको बताउनुभएको छ ।

“सन् २०१५ यता सिरियाका गाउँ नगरहरु विस्तारै विद्रोहीको कब्जाबाट मुक्त भइरहेका छन्, र दश लाखभन्दा बढी व्यक्ति यसअघि नै घर फर्किसकेका छन्,” सर्गेई शोइगुले रुसी समाचार संस्थालाई बताउनुभयो । “अहिले अरु थप दश लाखलाई स्वदेश फर्काउन हरसम्भव प्रयत्न भइरहेको छ ।”

उहाँले भन्नुभयो, “पूर्वाधार पुनर्निर्माणका कार्यहरु अहिले सिरियामा तिब्र रुपमा सञ्चालनमा छन् । यातायात र सुरक्षा जाँच चौकीको पुनर्निर्माण भइरहेको छ ताकि सिरिया सरकारले अरु थप शरणार्थीलाई आमन्त्रण गर्न सकोस् ।”

सिरियाको लामो समयदेखिको मित्रराष्ट्र रसियाले सङ्घर्षरत राष्ट्रपति बशार अल–असादको समर्थनमा सन् २०१५ यता सैनिक सहयोग गरिरहेको छ । रुसी सहयोगका कारण परिस्थितिमा व्यापक सुधार आएको बताइन्छ ।

राष्ट्रपति असाद र उहाँको सहयोगी गठबन्धनले सिरियाको ठूलो भूभागमा नियन्त्रण कायम गर्न थालेदेखि नै सिरियाले मस्कोको सहयोगमा द्वन्द्वोत्तर पुनर्निर्माणको कार्यमा ध्यानकेन्द्रित गरिरहेको छ ।

दोस्रो विश्वयुद्ध पश्चात् सबैभन्दा भयानक मानिएको सिरियाको गृहयुद्ध सन् २०११ मा सुरु भएको थियो । यस युद्धबाट सिरियाको कूल जनसंख्याको झण्डै आधा विस्थापित भएका छन् । करिब ५० लाख मानिस सिरियाको सीमाभन्दा बाहिर शरणार्थी जीवन बाँचिरहेका छन् ।

सिरियाबाट भागेका अधिकांश व्यक्तिहरुले छिमेकी मुलुकहरु खासगरी टर्की, जोर्डन र लेबनानमा आश्रय लिइरहेका छन् ।

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत महिना हेल्सीन्कीमा सम्पन्न शिखर वार्तामा सिरियाली शरणार्थीलाई स्वदेश फर्काउने विषयमा समेत छलफल गर्नुभएको थियो । मस्कोले शरणार्थी फिर्तासम्बन्धी योजना वासिङ्टनलाई दिएको बताइन्छ तर यसको स्वतन्त्र पुष्टी हुन सकेको छैन ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

© सर्वाधिकार प्रस्तावित ठकुरी क्रिएसन प्रालिमा सुरक्षित