‘प्रेम गीत ३’ नखेल्दै चुलियो मनिषको चर्चा, महंगो मूल्यमा ब्राण्ड एम्बेस्डर नियुक्त

एनआरएनपोस्ट संवाददाता
प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलवार १५:१२

‘प्रेम गीत ३’ नखेल्दै चुलियो मनिषको चर्चा, महंगो मूल्यमा ब्राण्ड एम्बेस्डर नियुक्त

सन्तोष सेनको निर्माणाधीन फिल्म ‘प्रेमगीत–३’मा अनुबन्धित भएसँगै मनिष राउत चर्चामा छन् । विशेष गरी आफ्नै लुक्सका कारण चर्चामा रहेका मनिष ‘प्रेमगीत–३’ मार्फत नेपाली फिल्म उद्योगमा डेब्यु गर्दैछन् । यसैबीच मनिष राउत ‘डा. डेनिम’को ब्राण्ड एम्बासडर बनेका छन् ।

यस ब्राण्डका सुमन गौतमले ‘प्रेमगीत–३’ सम्बन्धित विभिन्न सामग्री हेरेरै मनिष राउतलाई ‘डा.डेनिम’को ब्राण्ड एम्बासडरको रुपमा लिइएको बताएका छन् । मनिष राउतको लुक्स र चर्चाबाट आफूहरु एकदमै प्रभावित भएको उनको भनाइ छ । साथै अबको पाँच वर्षमा ‘डा. डेनिम’ र मनिष राउत दुवै यो देशको स्टार बन्ने गौतमको दाबी छ ।

‘डा.डेनिम’ नामक उक्त क्लोथिङ ब्राण्डले आगामी भदौदेखि विक्री वितरण सुरु गर्ने सुमनले जानकारी गराएका छन् । यस ब्राण्डले पुरुषहरुका लागि हरेक प्रकारका कपडाहरुको विक्री वितरण गर्नेछ । पाँच वर्षका लागि मनिष राउत महंगो रकममा ‘डा. डेनिम’को ब्राण्ड एम्बासडर बनेका हुन् ।

फिल्ममा अभिनय नगर्दै आफ्नो डिमाण्ड बढेका कारण मनिष आफैले पनि चकित छन् । त्यसोत, उनले आफूमा धेरै जिम्मेवारी थपिएको बताएका छन् । ‘डा. डेनिम’लाई नेपालको राम्रो क्लोथिङ ब्राण्डको रुपमा अगाडि बढाउन आफूले सक्दो मेहेनत गर्ने बताएका छन् ।

मनिषको पहिलो फिल्म ‘प्रेमगीत–३’ यही दशैं लगत्तै फ्लोरमा जाने निर्माता सेनले पहिल्यै जानकारी गराइसकेका छन् । यो फिल्ममा मनिष सँगै शिब श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, प्रदीप खडका, पुष्कर कार्की, प्रेम पुरी, नव नायिका कृष्टिना गुरुङ, अनुभव रेग्मी र समृद्धी शाहीको मुख्य भूमिका रहनेछ ।

यसै फिल्म मार्फत निर्माता तथा कलाकार सन्तोष सेनले पनि एक्शन कटमा डेब्यु गर्दैछन् । यो फिल्मलाई अर्का निर्देशक छेतेन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् । यो फिल्म नयाँ वर्षको अवसरमा चैत २८ गतेबाट दर्शकमाझ रिलिजमा आउँदैछ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

© सर्वाधिकार प्रस्तावित ठकुरी क्रिएसन प्रालिमा सुरक्षित