सरकारले विदेशस्थित पाँचवटा नेपाली कूटनीतिक नियोगहरू बन्द गर्ने प्रक्रिया अघि बढाएको छ।
परराष्ट्र मन्त्रालयले ती नियोगहरूबाट प्रवाह हुँदै आएको सेवाको भरपर्दो वैकल्पिक व्यवस्था सुनिश्चित गरेपछि मात्र कार्यालयहरू पूर्ण रूपमा बन्द गरिने जनाएको छ।
मन्त्रालयमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सरकारको पछिल्लो निर्णयबारे जानकारी दिँदै ब्राजिल, डेनमार्क र दक्षिण अफ्रिकास्थित नेपाली राजदूतावासका साथै अमेरिकाको सानफ्रान्सिस्को र चीनको छेन्दुस्थित नेपाली महावाणिज्य दूतावासहरू बन्द गर्ने तयारी भइरहेको बताए।
प्रवक्ता क्षेत्रीकाअनुसार ती क्षेत्रमा रहेका नेपाली नागरिक तथा विदेशीहरूका लागि प्रदान गरिने कन्सुलरलगायतका सेवाहरूमा कुनै अवरोध नआउने गरी काम भइरहेको छ।
सरकारले आर्थिक संकुचन र कार्यभारलाई दृष्टिगत गर्दै नियोगहरूको संख्या घटाउने निर्णय गरेको भए पनि यो व्यवस्था अल्पकालीन मात्र भएको मन्त्रालयको दाबी छ। प्रवक्ता क्षेत्रीले मुलुकको आर्थिक क्षमता वृद्धि हुँदै गएपछि आगामी दिनमा आवश्यकताअनुसार कूटनीतिक उपस्थिति पुनः विस्तार गरिने स्पष्ट पारे।
उनले भने, ‘सरकारले ब्राजिल, डेनमार्क र दक्षिण अफ्रिकास्थित नेपाली राजदूतावास तथा सानफ्रान्सिस्को र छेन्दुस्थित नेपाली महावाणिज्यदूतावास बन्द गर्ने निर्णय गरेको छ। तर, ती नियोग बन्द गर्नुअघि सम्बन्धित क्षेत्रमा रहेका नेपाली नागरिक, अन्य सेवाग्राही तथा समवर्ती मान्यता प्राप्त मुलुकहरूलाई प्रभावकारी र भरपर्दो सेवा उपलब्ध हुने वैकल्पिक व्यवस्था सुनिश्चित गर्ने कार्य भइरहेको छ।’