रंगाहरुको पर्व फागु पूर्णीमा आथत् होली आज नेपालका विशेष गरी हिमाल र पहाडी जिल्लाहरुमा एक आपसमा रंग, अबिर दलेर हर्ष र उल्लासका साथ मनाइँदै छ।
पहाडी तथा हिमाली जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन (आज) मनाइने होली तराईका जिल्लामा भने भोलिपल्ट (मंगलबार) विशेष उत्साहका साथ मनाइने परम्परा छ। धार्मिक मान्यताअनुसार असत्यमाथि सत्यमको विजयको प्रतीकका रूपमा होली मनाउने गरिन्छ।
काठमाडौंको ऐतिहासिक वसन्तपुर दरबार क्षेत्रमा युवाहरूको भीड लागेको छ। होलीसँग जोडिएको पौराणिक कथाअनुसार भक्त प्रह्लाद र होलिकाको कथा प्रख्यात छ। दुष्ट प्रवृत्तिको अन्त्य र सत्यको विजय भएको सम्झनामा रंग खेल्ने परम्परा बसेको विश्वास गरिन्छ।
यस अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। प्रशासनले मर्यादित र सुरक्षित रूपमा पर्व मनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। मदिरा सेवन गरी अशोभनीय गतिविधि नगर्न, जबर्जस्ती रंग नदल्न र सवारीसाधन सावधानीपूर्वक चलाउन समेत सचेत गराइएको छ।
होली पर्वले आपसी सद्भाव, एकता र भाइचाराको सन्देश दिने विश्वास गरिन्छ। विभिन्न समुदाय, जातजाति र धर्मावलम्बीबीच आपसी सम्बन्ध प्रगाढ बनाउने पर्वका रूपमा होलीलाई लिने गरिएको छ।