भदौ २६, २०८२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालको राजनीतिक संकट समाधानका लागि जेन–जी पुस्तासहितको अनिवार्य सहभागितामा आधारित सर्वपक्षीय सहमतिबाट प्रधानमन्त्री चयन हुनुपर्नेमा समर्थन जनाउँदै राष्ट्रपतिको प्रत्यक्ष पहलमा संवाद हुनुपर्ने र संविधान बाहिर जान नसकिने कुरामा जोड दिएको छ ।
बिहीबार बसेको पार्टीको भर्चुअल केन्द्रीय समिति बैठकले यस्तो निर्णय गर्दै बृहत् राजनीतिक अनुमोदनको शुभेच्छा व्यक्त गरेको छ । पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालद्वारा जारी प्रस्तावमा भनिएको छ, ‘सुशासनको पक्षमा निर्णायक हस्तक्षेप गर्न सफल जेन–जी पुस्ताको अनिवार्य सहभागितासहितको सर्वपक्षीय सहमतिबाट प्रधानमन्त्रीका लागि प्रस्तावित उम्मेदवारप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन रहनेछ ।’
रास्वपाले चुनाव घोषणापछि संसदको कारबाही स्वयम् निष्क्रिय हुने भएकाले त्यसैबाट देशलाई निकास दिनुपर्ने जनाएको छ । साथै, संविधानको धारा ८३ अनुसार संघीय व्यवस्थापिका दुई सदनात्मक हुने प्रावधानको स्मरण गर्दै राष्ट्रिय सभाको स्थायी स्वरूप र गतिशीलता कायम राखी अन्तरिम सरकारले आगामी ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन गर्नुपर्ने आवश्यकता पार्टीले औंल्याएको छ ।
रास्वपाको प्रस्तावमा भनिएको छ, ‘ताजा जनादेशको अपरिहार्यता र आन्दोलनको म्यान्डेटबीच सन्तुलन कायम गर्न यही नै सबैभन्दा उपयुक्त बाटो हो ।’