राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भातृत्व र राष्ट्रिय एकता कायम गर्न आग्रह गरेका छन् ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि विभिन्न जिल्लामा भइरहेको हिंसात्मक प्रदर्शनप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनले शान्ति, अमनचयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई मजबुत बनाउन आग्रह गरेका हुन् । आज एक अपिल जारी गर्दै उनले सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भातृत्व नै मुलुकको पहिचान भएको बताएका हुन् ।
‘सदियौंदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भातृत्व नै हाम्रो देशको पहिचान र परम्परा हो’,अगाडि भनिएको छ,‘यसलाई कायम राख्दै शान्ति, अमनचयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई मजबुत बनाउन म सबै राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई आग्रह गर्दछु ।’
साथै, उनले घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाही गर्न र आगामी दिनमा त्यस्ता घटना दोहोरिन नदिन सरोकारवालालाई सचेत गराएका छन् ।
धर्मको विषयलाई लिएर कप्तानगञ्जमा भएको झडपमा प्रहरीको गोली लागेर स्थानीयको मृत्यु भएपछि मधेश प्रदेश अशान्त बनेको छ । सिरहाको गोलबजारमा प्रदर्शनको क्रममा आज पनि एक जनाको ज्यान गएको छ ।