अविनाश विक्रम शाह निर्देशित नेपाली फिल्म ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ ९९औँ एकेडेमी अवार्ड (अस्कर)का लागि नेपालको प्रतिनिधि फिल्मका रूपमा छनोट भएको छ। सन् २०२७ मा घोषणा हुने एकेडेमी अवार्डको अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालबाट उक्त फिल्मले प्रतिस्पर्धा गर्नेछ।
अस्करको अन्तर्राष्ट्रिय फिचर चलचित्र विधाका लागि नेपालबाट ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ र ‘गौंथली’ ले आवेदन दिएका थिए। दुवै फिल्मको मूल्यांकनपछि छनोट समितिले ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’लाई नेपालको प्रतिनिधि फिल्मका रूपमा छनोट गरेको हो।
अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)का अध्यक्ष लक्ष्मीनाथ शर्माले जारी गरेको प्रेस विज्ञप्तिअनुसार फिल्मको प्राविधिक पक्ष, कथाको प्रस्तुति, पात्रहरूको भावनात्मक पक्ष तथा कलात्मक शिल्पलाई मूल्यांकनको आधार बनाइएको थियो।
फिल्ममा पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, अलिज घिमिरे, आशान्त शर्मा, गौरी मल्ल र माओत्से गुरुङलगायत कलाकारको अभिनय छ।
‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ले यसअघि नै अन्तर्राष्ट्रिय फिल्म क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरिसकेको छ। फिल्म कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट हुनुका साथै जुरी पुरस्कार जित्न सफल भएको थियो। कान्समा पुरस्कार जित्ने यो पहिलो नेपाली फिल्म बनेको हो।
कान्समा ऐतिहासिक सफलता हासिल गरेपछि फिल्म अहिले नेपालमा प्रदर्शनरत छ।
© 2026 All right reserved to nrnpost.com | Site By : Sobij