बिचौलिया र न्यायाधीशहरुको नाम जोडिएर पछिल्ला समय आएका समाचारका विषयमा छानबिन गरि यथाशीघ्र छानबिन गरि सत्य, तथ्य सार्वजनिक गर्न सर्वोच्च अदालतको फुलकोर्ट (पूर्ण बैठक) ले माग गरेको छ ।
सोमबार बसेको बैठकले प्रधानन्यायाधीश तथा न्यायाधीशहरूको नाम जोडेर पछिल्ला समय आएका समाचारका विषयमा ध्यानाकर्षण भएको भन्दै सार्वजनिक रूपमा प्रकाशित र प्रसारित विषयका सम्बन्धमा बिना पूर्वाग्रह, निष्पक्ष एवं स्वतन्त्र ढंगबाट संविधान र कानुन बमोजिम छानबिन गरी सत्य, तथ्य सहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गर्ने निर्णय गरेको हो ।
न्यायाधीश र बिचौलिया इनम सापकोटाबीच भएको भनिएको कुराकानी र प्रधानन्यायाधीश शर्माको नामसमेत जोडिएपछि न्यायालय तरंगित बनेको सन्दर्भमा छलफल गर्न बिहान ९ बजे बसेको बैठक खर्भरै सकिएको छ ।
बैठकमा प्रधानन्यायाधीश मनोजकुमार शर्मासहित सर्वोच्चमा बहालवाला सबै न्यायाधीश सहभागी थिए ।
छानबिनको निष्कर्ष प्राप्त नहुँदै कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने गरी कुनै पनि समाचार प्रकाशन तथा प्रसारण नगर्न सर्वोच्चले आग्रह गरेको छ ।
फुलकोर्टले पाँच वटा निर्णग गरी विज्ञप्ति समेत जारी गरेको छ ।