गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ३६ जना चिकित्सकको लाइसेन्स खारेज गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णप्रति आपत्ति जनाएको छ ।
मंगलबार एनआरएनएले एक विज्ञप्ति जारी गर्दै काउन्सिलको उक्त निर्णयप्रति आपत्ति जनाएको हो ।
“विदेशमा गैरआवासीय नेपाली हैसियतमा रहेका ३६ जना नेपाली चिकित्सकको लाइसेन्स खारेज गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णयप्रति गैरआवासीय नेपाली संघको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त निर्णयले सम्बन्धित चिकित्सकहरुको पेशागत भविष्य मात्र नभई विदेशमा कार्यरत सम्पूर्ण नेपाली चिकित्सक समुदायको मनोबलमा समेत नकारात्मक प्रभाव परेको हाम्रो ठहर छ,” उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
संविधानले गैरआवासीय नेपालीको अधिकार सुनिश्चित गरिसकेको अवस्थामा बसोबासको आधारमा चिकित्सकको पेशागत पहिचानमाथि प्रश्न उठाउने वा खोस्ने कार्य न्यायोचित नभएको एनआरएनएले जनाएको छ ।
चिकित्सा पेशा मानव सेवासँग प्रत्यक्ष सम्बन्धित संवेदनशिल क्षेत्र भएकाले त्यस्ता निर्णयहरु गर्दा परामर्श, स्पष्ट आधार तथा प्रक्रियागत पारदर्शिता अनिवार्य रुपमा पालना गरिनु आवश्यक हुने एनआरएनएको भनाई रहेको छ । सरकारले सीप हस्तान्तरणको नीति अघि सारेको अवस्थामा उच्च दक्षता भएका चिकित्सकहरुलाई नै निरुत्साहित गर्नु गलत अभ्यास भएको एनआरएनएको दाबी छ ।
एनआरएनएले सम्बन्धित सरोकारवालाहरुसँग आवश्यक संवादमार्फत् न्यायोचित, पारदर्शि र व्यवहारिक समाधान खोज्न आग्रह गरेको छ ।