जिल्ला धादिङको बेनिघाट रोराङ गाउँपालिका-०९ ज्यामिरेघाटस्थित त्रिशूली नदी किनारमा फेला परेको शंकास्पद वस्तु कोठामा ल्याई फुटाउने क्रममा विस्फोट हुँदा दुई जना घाइते भएका छन्।
बेनिघाट रोराङ गाउँपालिका–९, ज्यामिरेघाटस्थित सरस्वती खड्काको घरमा कोठा भाडामा बस्ने जिल्ला काभ्रे, ढुङखर्क गाउँपालिका–९ घर भएका अन्दाजी ५३ वर्षीय कान्छा परियार र उनका दुई छोराहरू अन्दाजी २६ वर्षीय जंगे परियार र अन्दाजी २४ वर्षीय रामचन्द्र परियारले त्रिशूली नदी किनारमा शंकास्पद वस्तु फेला पारी कोठामा ल्याएका थिए।
उक्त शंकास्पद वस्तु फुटाउने क्रममा विस्फोट हुँदा त्यसको छर्रा लागेर जंगे परियार र रामचन्द्र परियारको शरीरका विभिन्न भागमा चोट लागी घाइते भएको प्रहरीले जनाएको छ ।
घटनाबारे खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी नायब उपरीक्षक सुरज कार्कीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
घाइते दुवै जनालाई उपचारका लागि चितवन मेडिकल कलेज चितवन पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।