वेस्ट इन्डिजका अलराउन्डर क्रिकेटर आन्द्रे रसेलले बिराटनगर किङ्सलेबाट एनपीएल खेल्ने भएका छन् ।
किङ्सले सामाजिक सञ्जाल मार्फत रसेललाई टिममा अनुबन्ध गरिएको जानकारी दिँदै नेपाली समर्थकहरूलाई दसैँको शुभकामना दिएको छ।
रसेलले टी- २० अन्तर्राष्ट्रिय खेलमा ३ अर्धशतक सहित १ हजार १२२ रन बनाएका छन् भने ६१ विकेट लिएका छन् । उनले ५६ एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा एक हजार ३४ रन बनाएका छन् ।
रसेल विश्वमै सर्वाधिक टी- २० खेल खेल्ने विश्वमै तेस्रो खेलाडी हुन । उनिभन्दा अगाडि वेस्ट इन्डिजकै सुनिल नारायण र काइरन पोलाई छन् ।
रसेलले वेस्ट इन्डिजबाट सन् २०१२ र २०१६ मा आईसीसी पुरुष टी- २० विश्वकपको उपाधी जितेका थिए । उनले कोलकाता नाइटराइडर्सबाट सन् २०१४ र २०२४ मा आईपीएलको उपाधी जितेका थिए ।
यस्तै, उनले क्यारेबीयन प्रीमियर लिग २ पटक र बंगलादेश प्रीमियर लिग एक पटक जितिसकेका छन् ।
एनपीएलको तेस्रो संस्करण यही कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म हुँदैछ । एनपीएललाई आईसीसीले समेत औपचारिक रुपमा मान्यता दिएको छ ।