चितवनको महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनको बेथरी खोलानजिक बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मंगलबार दिउँसो समयमा निउरो टिप्न गएका चार जनामध्ये भरतपुर महानगरपालिका–२७ बस्ने ४६ वर्षीय भीम महतोलाई बाघले आक्रमण गरी लगेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घटनाबारे उनिसँगै गएका साथीहरूले मंगलबार साँझ ५:४५ बजे इलाका प्रहरी कार्यालय दिव्यनगर, चितवनमा जानकारी गराएका थिए ।
जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी, चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, स्थानीयवासी तथा वनका कर्मचारीको समन्वयमा खोजतलास गर्ने क्रममा बुधबार चितवन राष्ट्रिय निकुञ्जभित्र महतोको शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शव फेला परेको स्थान नजिकै रहेको बाघलाई डार्ट हानि नियन्त्रणमा लिइएको छ भने उक्त घटनाबारे थप अनुसन्धान समेत भइरहेको छ ।