बिहीबार, भदौ २६, २०८२
काठमाडौं ।
लेखक, पत्रकार, राजनीतिकशास्त्री, मानवशास्त्री, चिकित्सक, कवि र कलाकारलगायत बौद्धिक समुदायले राष्ट्रपति रामचन्द्र पौडेललाई हालको राजनीतिक संकट र रिक्ततालाई चिरेर निष्कर्षतिर लैजान आग्रह गरेका छन् । उनीहरूले नागरिक सर्वोच्चता कायम हुने गरी नागरिक सरकार गठन गर्न पनि माग गरेका छन् ।
‘संविधानका पालक एवं संरक्षक रहनुभएका राष्ट्रपति पौडेलले अब विलम्ब नगरी पहल र नेतृत्व लिनुपर्छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यसका लागि आन्दोलनकारी जेनजी समूह, राजनीतिक दल, नागरिक समाज र बौद्धिक समुदायसँग संवाद गरी अन्तरिम सरकार गठन गर्न जरुरी छ । यस्तो संवाद राष्ट्रपति कार्यालयमै हुनुपर्छ, जङ्गी अड्डामा होइन ।’
विज्ञप्तिमा सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्धको जेनजी पुस्ताको शान्तिपूर्ण आन्दोलनमाथि गरिएको दमनकारी व्यवहारको घोर भर्त्सना गरिएको छ ।
‘सुरक्षा निकायले संविधान र विधिको शासनअनुसार मानवअधिकारको सम्मान गर्दै शान्ति सुव्यवस्था कायम गर्नुपर्छ,’ उनीहरूको भनाइ छ । तर आन्दोलनका क्रममा संसद भवन, सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत, राजनीतिक पार्टीका कार्यालय, नेताका निवास, सञ्चारगृह, निजी व्यवसाय तथा ऐतिहासिक धरोहरमाथि भएका तोडफोड, आगजनी, लुटपाट र आक्रमणप्रति पनि विज्ञप्तिले असन्तोष प्रकट गरेको छ ।
प्रधानमन्त्रीले राजीनामा दिए पनि नयाँ सरकार नबन्नु देशलाई राजनीतिक रिक्ततामा पुर्याएको विज्ञप्तिमा उल्लेख छ ।
‘सार्वभौम संसद जीवित छ, त्यसैले अहिलेको असाधारण परिस्थितिमा हुने सहमति संसदबाट अनुमोदन गरी ताजा जनादेशका लागि जनतामा जानु उपयुक्त हुन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर संसदमा प्रतिनिधित्व गर्ने दलहरूको असफल नेतृत्व परिवर्तन गरी सुधार, पुनर्संरचना र रूपान्तरण अपरिहार्य भइसकेको छ ।’
संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानसभाबाट बनेको संविधानविरुद्ध हुने कुनै पनि षड्यन्त्र नागरिकले स्वीकार नगर्ने विज्ञप्तिमा चेतावनी दिइएको छ ।
विज्ञप्ति जारी गर्नेहरुमा अनुप सुवेदी, अरुण जोशी, इन्दु अधिकारी, उद्धव प्याकुरेल, कन्चन झा, केशव दाहाल, कोमल भट्टराई, कृष्ण पौडेल, खगेन्द्र संग्रौला, गेजा शर्मा वाग्ले, घिमिरे युवराज, झलक सुवेदी, दिपेश घिमिरे, निरज भारी, मुमाराम खनाल, रामराज रेग्मी, सञ्जीव सतगैया, सुरेश ढकाल, विनोद विक्रम केसी र युग पाठक छन् ।