काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक भएको छ ।
आगामी फागुन ३० गतेदेखि चैत्र २ गतेसम्म हुने १२ औँ महाधिवेशनको नयाँ नेतृत्वका लागि हुने निर्वाचनको कार्यतालिका सार्वजनिक भएको हो ।
“दुई वर्षे कार्यकालका लागि अन्तर्राष्ट्रिय महाधिवेशनबाट ७४ पदका लागि फागुन २२ गते भौतिक उपस्थित र अनलाइनबाट उम्मेदवारी दर्ता गरिसक्नुपर्ने छ । गैरआवासीय नेपाली संघको सचिवालयमा स्वयम उपस्थिति भएर वा इमलेमार्फत् उम्मेदवारी पेस गर्नेले प्रस्तावक र समर्थकसहित अनिवार्य उपस्थित भइ सनाखत गर्नुपर्ने,” एनआरएनएद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सार्वजनिक कार्यतालिका अनुसार फागुन २६ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ भने २७ गते सम्म उम्मेदवारविरुद्ध दाबी पेश गर्न पाइनेछ । २७ गते नै उम्मेदवारको मनोनयन पत्रको जाँचबुझ र उजुरी उपर निर्णय हुने छ । सोही दिन नै उम्मेदवारको दोस्रो नामावली प्रकाशित हुने कार्यसूची रहेको छ ।
त्यस्तै २८ गते उम्मेदवारले आफ्नो मनोनयन पत्र फिर्ता लिन सक्नेछन् भने सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । २८ गते नै अनलाइन माध्यमबाट निर्वाचन गराउने कम्पनीलाई उम्मेदवारको अन्तिम नामावली उपलब्ध गराइनेछ । २९ गते अनलाइनको नमुना निर्वाचन हुनेछ ।
फागुन ३० गतेदेखि चैत्र १ गतेसम्म नेपाल बाहिर अनलाइन माध्यमबाट मतदान प्रयोजनका लागि अनलाइन मतदान खुल्ला रहनेछ । भौतिक उपस्थितिमा अनलाइन माध्यमबाट मतदान प्रयोजनको लागि नेपालभित्र होटल द सोल्टीमा चैत १ गते बिहान १०ः०० बजेबाट साँझ ६:०० बजेसम्म मतदान हुनेछ ।