रोजिना प्रधान राईले गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशनमा खुल्ला तर्फ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
बिहिवार सामाजिक सञ्जाल फेसबुकमा एक विज्ञप्ति जारी गर्दै राईले एनआरएनएको १२ औँ विश्व सम्मेलन तथा महाधिवेशन ऐतिहासिक क्षणमा आफूले खुल्ला तर्फको उपाध्यक्ष पदमा उम्मेदवारी दिने जानकारी दिएकी हुन् ।
सन् २००३ मा “नेपालका लागि नेपाली” भन्ने मूलमन्त्रसहित स्थापना भएको एनआरएनएमा सन् २००७ देखि निरन्तर विभिन्न जिम्मेवारीमा रहेर सेवा गर्दै आएकी राई ११औँ महाधिवेशनबाट महिला उपाध्यक्षमा निर्वाचित भएकी थिइन्। उनले उक्त जिम्मेवारीलाई व्यक्तिगत उपलब्धि नभई सदस्यहरूले दिएको विश्वास र भरोसाको परिणामका रूपमा लिएको बताएकी छन्।
संस्थाभित्र देखिएका चुनौतीहरूलाई आत्मसात गर्दै आफू सधैं बृहत् एकता, पारदर्शिता र संस्थागत सुदृढीकरणको पक्षमा उभिएको उनको भनाई रहेको छ। महिला उपाध्यक्षको हैसियतमा उनले केवल महिलाको मुद्दामा सीमित नभई सम्पूर्ण नेपाली समुदाय र नेपालको हितका लागि साझा अभियानलाई सुदृढ बनाउन काम गरेको उल्लेख गरेकी छन्।
राईले संघलाई अझ सशक्त, एकीकृत र उच्च स्तरमा पुर्याउने दृढ संकल्प व्यक्त गर्दै विश्वभर छरिएका नेपाली र तिनका सन्तानलाई सम्मानित नेपालीका रूपमा स्थापित गराउने लक्ष्य राखेको बताएकी छन्।

राईले आफ्नो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षा नभई संस्थाको दीर्घकालीन हित र समृद्धिप्रतिको प्रतिबद्धता भएको स्पष्ट पार्दै सबै सदस्यको साथ, विश्वास र सहयोगको अपेक्षा गरेकी छन्।
“अब मेरो दृढ संकल्प यही हो कि संघलाई अझ सशक्त, एकीकृत र उच्चतम स्तरमा पुर्याउने काम निरन्तरता पाइयोस्र एक पटकको नेपाली सधैको नेपाली मात्र होइन विश्व भर छरिएका नेपालीको सन्तान सम्मानित नेपाली का रूपमा स्थापित गराउने र सु संस्कृत र विकशित नेपाल बनाउने अभियानमा लाग्ने दृढता र प्रतिबद्धतासहित, म १२ औं महाधिवेशनमा खुल्ला तर्फको उपाध्यक्ष पदमा उम्मेदवारी दिँदै छु। यो कदम व्यक्तिगत महत्वाकांक्षा मात्र होइन, संस्थाको दीर्घकालीन हित र समृद्धि प्रति मेरो प्रतिबद्धता हो। म यहाँहरूको अमूल्य साथ, विश्वास र सहयोगको अपेक्षा गर्दछु,” उम्मेदवारी घोषणा गर्दै राईले सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फागुन ३० गतेदेखि चैत्र २ गतेसम्म हुँदैछ ।