विजया दशमीको टीकाको दोस्रो दिन आज एकादशीमा पनि टीका र जमरा लगाएर बडादशैं मनाइँदैछ ।
आज पनि मान्यजनका हातबाट नवदुर्गाको प्रसाद स्वरुप रातो टीका र समृद्धिको प्रतिक जमरा लगाएर दशैं मनाइँदैछ । बुधवार बडादशैंको मुख्य दिन अर्थात् विजया दशमी थियो भने आज एकादशी हो । हिजो टीका थाप्न नभ्याएका सर्वसाधारण आज पनि आफन्त तथा मान्यनकहाँ पुगेर विजया दशमीको टीका थापिरहेका छन् ।
हिजो घरमै टीका लगाएका कतिपय सर्वसाधारण आज काठमाडौं बाहिर र टाढाँ रहेका आफन्त वा मान्यजनकहाँ गएर टीका थापिरहेका छन् ।
आज काठमाडौंमा लामो तथा छोटो दूरीका सवारी साधन फाटफुट्ट सञ्चालन भैरहेकाले कतिपय नागरिकहरु टीका थाप्न बाहिरिरहेका छन् । त्यस्तै काठमाडौं बाहिरबाट पनि मानिसहरु राजधानी प्रवेश गरिरहेका छन् ।
बडा दशैंको टीकाको मुख्य दिन विजया दशमी भए पनि कोजाग्रत पूर्णीमासम्म मान्यजनबाट दुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाउने प्रचलन रहेको छ ।