धनकुटाको साँगुरीगढी गाउँपालिका–१०, त्रिवेणीस्थित सप्तकोशी नदीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आज भोजपुरको हतुवागढी गाउँपालिका–९, कोप्चेबाट बराहक्षेत्र–चतरा, सुनसरीतर्फ जाँदै गरेको OBM कम्पनीको पानीबोट ब्रेक फेल भई सप्तकोशी नदीमा दुर्घटना भएको हो। पानीबोटमा चालकसहित १५ जना सवार थिए।
घटनालगत्तै इलाका प्रहरी कार्यालय, महेन्द्रनगर चक्रघट्टी,सुनसरीबाट प्रहरी टोली खटिई चालकसहित १२ जनाको उद्धार गरी चतरा अस्पताल पठाइएकोमा उपचारका क्रममा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका-१ बस्ने अं. ५२ वर्षीया लिला राई, नाम, थर, वतन नखुलेकी अन्दाजी ६/७ वर्षीया बालिका र नाम, थर, वतन नखुलेका अन्दाजी ४०/५० वर्षीय पुरुष रहेका छन् ।
उद्धार भएका तथा सकुशल रहेका पानीबोट चालक जिल्ला सुन्सरी, बराहक्षेत्र नगरपालिका-१ बस्ने अं. २४ वर्षीय सुमन मगर, भोजपुर हतुवागढी गाउँपालिका-४ बस्ने अं. ४५ वर्षीय बिष्णु सुनार, भोजपुर हतुवागढी गाउँपालिका-४ बस्ने अं. ४२ वर्षीय तिर्था रसाईली सुनार, सोही स्थानका २५ वर्षीया पूजा तिरुवा, २२ वर्षीय प्रज्वल तिरुवा, २६ वर्षीय देबेन्द्र राई, ३१ वर्षीय मोहन सुनार र २३ वर्षीय रञ्जित राई रहेका छन् ।
त्यस्तै झापाको कन्काई नगरपालिका-४ बस्ने अं. २९ वर्षीया निता मगर रहेका छन् ।
बेपत्ता हुनेमा झापाको कन्काई नगरपालिका-४ बस्ने अं. ७ वर्षीय शिवक मगर, बराहक्षेत्र नगरपालिका-१ बस्ने अं. २१वर्षीया प्रमिला मगर र बराहक्षेत्र नगरपालिका-१ बस्ने अं. २२ वर्षीया मनु राई रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बेपत्ता तीन जनाको खोजी कार्य जारी रहेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको छ।