रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
प्रहरीका अनुसार सोमबार दिउँसो थापागाउँबाट नयाँडाँडातर्फ आउँदै गरेको भे.१ च ३११२ नम्बरको डबल क्याप जीप ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो। उक्त जीप आठबिसकोट नगरपालिका–४ बस्ने वर्ष २५ का प्रदिप विकले चलाएका थिए ।
दुर्घटनामा आठबिसकोट नगरपालिका–५ बस्ने वर्ष १० का हरिबहादुर थापा र वर्ष २९ का लक्ष्मीराम थापाको घटनास्थलमै मृत्यु भएको छ ।
गम्भीर घाइते हुनेहरुमा १९ वर्षीया जुना कुमारी थापा, ३५ वर्षीय गाडी साहु वीरबहादुर थापा, २३ वर्षीया सीता थापा र जुनि थापा, ८ वर्षीय युवराज थापा तथा ४ वर्षीय विरता थापा रहेका छन् ।
२५ वर्षीया हिरा थापा र २ वर्षीय गौरव थापाको अवस्था मध्यम रहेको छ भने २३ वर्षीया सुशिला थापा एरी, २८ वर्षीया भावना थापा एरी, २७ वर्षीया खिममाया थापा, २० वर्षीया रमिता एरी र १९ वर्षीया निर्मला एरीको स्वास्थ अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनापछि चालक फरार रहेकाले उनको खोजी कार्य जारी हुनुको साथै घटनाबारे थप अनुसन्धान भैरहेको छ ।