नेपाली मौलिक संस्कृति, रैथाने उत्पादन तथा स्थानीय उद्यमशीलताको प्रवर्द्धन गर्दै स्वदेशी उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यसहित सरकारले तिहार विशेष रैथाने मेला आयोजना गरेको छ।
सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत आजदेखि काठमाडौंको थापाथलीस्थित कम्पनीको बागमती प्रादेशिक कार्यालय परिसरमा तीनदिने मेला सुरु भएको छ।
रैथाने उत्पादनको बजारीकरण, स्थानीय उद्यमीलाई प्रोत्साहन तथा परम्परागत खाद्य संस्कृति र उत्पादनको संरक्षणका निम्ति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सहजीकरणमा मेला आयोजना गरिएको हो।
मेलामा कृषक, कृषक समूह, कृषि सहकारी संस्था, महिला तथा युवा उद्यमी एवं स्थानीय उत्पादकले आफ्ना उत्पादनको प्रदर्शनी तथा बिक्रीका लागि स्टल राख्नुभएको छ।
मेलामा तिहार विशेष परिकार तथा परम्परागत खाद्य सामग्री, फूल तथा माला, सजावटका सामग्री, परम्परागत पोसाक, हस्तकलाका सामग्री, माटाका भाँडाकुँडा, रैथाने बाली, कृषि उपजलगायत स्वदेशी तथा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ।
स्थानीय उत्पादनको पहिचान, प्रवर्द्धन र बजारीकरणका माध्यमबाट कृषक तथा साना उद्यमीको आर्थिक गतिविधि विस्तार गर्ने, महिला तथा युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने र स्वदेशी उत्पादनको उपभोग बढाउने सरकारको लक्ष्य छ। साथै, आगामी दिनमा पनि साताको दुई दिन सार्वजनिक बिदाको समय उपयोग गर्दै सप्ताहान्तमा यस्ता कार्यक्रम सञ्चालन गरिनेछ।
सरकारले यही अभ्यास र मोडेललाई देशका ७७ वटै जिल्लामा विस्तार गर्दै अघि बढाउने योजना बनाएको छ।