पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तत्काल एकता सम्भव नभएको बताएका छन् ।
पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार आयोजित पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै संयोजक प्रचण्डले एमालेसँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य भए पनि तत्काल पार्टी एकताको सम्भावना भने नरहेको स्पष्ट पारे ।
आफ्नो पार्टी नेकपा भ्रष्टाचार विरुद्ध उभिएको र एमाले भने सुशासनको विपक्षमा उभिएकोले दुई दलको चरित्र नै नमिल्ने प्रचण्डको दाबी छ ।
"नेपाली कांग्रेस र एमालेको गठबन्धनले देशमा दुर्घटना निम्त्याउन सक्छ भनेर हामीले पहिल्यै सचेत गराएका थियौं । हाम्रो र उनिहरुको राजनीतिक दृष्टिकोण फरक छ । हामी भ्रष्टाचार विरुद्ध लड्ने र सुशासन, सामाजिक न्याय तथा समृद्धिका लागि प्रतिबद्ध छौं," प्रचण्डले भने ।
लोकतन्त्रमा पहिलो र दोस्रो दल मिलेर सत्ता सञ्चालन गर्नु संसदीय अभ्यास विपरीत भएको भन्दै उनले आफुहरु भ्रष्टाचार विरुद्ध लड्ने र तत्कालिन सत्तापक्ष भ्रष्टाचारको संरक्षणमा लागेको आरोप लगाए ।
उनले भने, "राष्ट्रिय स्वाधिनता, लोकतान्त्रिक अधिकार र देशको हितका लागि आवश्यक परे जोसँग पनि सहकार्य गर्न तयार छौँ । तर यसको अर्थ एमालेसँग पार्टी एकता हुन्छ भन्ने होइन । त्यसका लागि इतिहास, पृष्ठभूमि र वैचारिक भिन्नताबारे गम्भीर समीक्षा आवश्यक छ । कम्युनिस्ट आन्दोलन अब उठ्न सक्दैन भन्ने भाष्य नयाँ होइन । विगतमा पनि यस्तै भनिन्थ्यो, तर हामीले परिवर्तनका लागि संघर्ष गर्यौं । आलोचनाभन्दा आफ्नो लक्ष्य र काममा केन्द्रित भएर अघि बढ्नु नै हाम्रो प्रतिवद्धता हो ।"