गैरआवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) बीच नेपाली आप्रवासी श्रमिकको सुरक्षा, सामाजिक सुरक्षा, मानसिक स्वास्थ्य तथा कल्याणका क्षेत्रमा सहकार्य थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ।
एनआरएनए अध्यक्ष डा. हेमराज शर्मा नेतृत्वको प्रतिनिधिमण्डल र आईएलओका नेपाल प्रमुख नुमान ओज्कानबीच भएको छलफलमा वैदेशिक रोजगारीमा रहेका श्रमिकका समस्या, आपत्कालीन सहयोग, पुनःस्थापना तथा विदेशबाट फर्किएका श्रमिकको सीप उपयोगबारे चर्चा भएको हो।
एनआरएनए महासचिव डा. चिरञ्जीवी खड्काले विदेशमा नेपाली श्रमिकको मृत्यु हुँदा शव नेपाल ल्याउने क्रममा कानुनी प्रक्रिया, कागजात, दोभाषे तथा स्थानीय समन्वयमा समस्या हुने गरेको बताए। उनले सामाजिक सुरक्षा र श्रमिक कल्याणका लागि संयुक्त परियोजना आवश्यक रहेको उल्लेख गरे ।
आईएलओ नेपाल प्रमुख ओज्कानले श्रमिकका वास्तविक समस्या पहिचान गरी समुदायमै पुगेर कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।
बैठकले सरकार, एनआरएनए, आईएलओ तथा अन्य साझेदार संस्थाबीच समन्वय बढाउँदै आप्रवासी श्रमिकको सामाजिक सुरक्षा, मानसिक स्वास्थ्य, सीप उपयोग र पुनःस्थापनाका क्षेत्रमा कार्यक्रम अघि बढाउने निष्कर्ष निकालेको जनाइएको छ ।