यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज देशभर दाजुभाइ तथा दिदीबहिनीले एकापसमा टीका लगाएर भाइटीका पर्व मनाउँदैछन् ।
कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीकामा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै सप्तरङ्गी वा पञ्चरङ्गी टीका तथा मखमली, सयपत्री र गोदावरी फूलको माला लगाइदिने परम्परा छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ । यद्यपि दिनभर टीका लगाउन सकिने समितिले जनाएको छ ।
दिदीबहिनी तथा दाजुभाइ नहुनेका लागि काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पनि आज भक्तजनका लागि खुला गरिएको छ ।
नेवार समुदायले भने आजको दिनलाई किजापूजाका रूपमा मनाउने परम्परा छ ।