अमेरिकामा नेपाली नर्स ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन्।
भर्जिनियाको प्रिन्स विलियम काउन्टीको जुरीले सन् २०२४ मा भएको घटनामा नरेशलाई ‘फर्स्ट डिग्री मर्डर’ अर्थात् प्रथम श्रेणीको हत्यासहित शव लुकाएको र क्षतविक्षत पारेको अभियोगमा दोषी ठहर गरेको हो।
अदालतमा बयान दिने क्रममा नरेशले पत्नीलाई घरमा मृत अवस्थामा भेटेको र डरका कारण शव टुक्रा पारेर फालेको स्वीकार गरेका थिए। तर, उनले हत्या गरेको आरोप भने अस्वीकार गर्दै आएका थिए।
ममताको शव अहिलेसम्म फेला परेको छैन। अदालतमा नरेश र ममताकी साथी गीता ढकालले दोभाषेको सहयोगमा बयान दिएका थिए।
सीएनएनको रिपोर्टअनुसार गीता अहिले नरेशसँग बसेर ममताकी सानी छोरीको हेरचाहमा सहयोग गर्दै आएकी छन्। शव फेला नपरे पनि अदालतमा प्रस्तुत प्रमाण र बयानका आधारमा जुरीले नरेशलाई दोषी ठहर गरेको हो।
फैसलापछि सरकारी वकिलले शव नभेटिँदैमा न्याय स्थापित हुन नसक्ने भन्ने नरहेको बताएका छन्। नरेश भट्टलाई कति वर्ष कैद सजाय हुने भन्ने निर्णय भने भइसकेको छैन।
आगामी सन् २०२७ मार्च १२ मा हुने सजाय निर्धारण सुनुवाइपछि मात्र त्यसको टुङ्गो लाग्नेछ। हाललाई उनीमाथिका तीनवटै अभियोगमा दोषी ठहर भएको छ।