पोखरामा घुम्न आएका विदेशी पर्यटकहरुले नेपालको दोस्रो महान चाड तिहारको अवसरमा भाइटीका लगाएका छन् ।
पोखरामा आयोजित १९ औँ भाइटीका महोत्सवमा १५ देशका ५१ जना विदेशी पर्यटक सहभागी भएका छन् ।
होटल सङ्घ पोखरा नेपालको आयोजनामा लेकसाइडस्थित होटल पौवामा भएको महोत्सवमा रेन्वो चिल्ड्रेन होम नेपालका छात्राहरूले पर्यटकलाई टीका र माला लगाइदिएका थिए ।
महोत्सवमा पर्यटकले देउसीभैलो, नाचगान र सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै सेलरोटीको स्वादसमेत लिए ।
टीकापछि महिला पर्यटकलाई पछ्यौरा र पुरुषलाई ढाकाटोपी उपहार दिइएको थियो ।
महोत्सवले विदेशी पर्यटकलाई नेपाली संस्कृति र चाडपर्वको प्रत्यक्ष अनुभव गराउनुका साथै पर्यटन प्रवर्द्धन र सांस्कृतिक सम्बन्ध विस्तारमा सहयोग पुग्ने आयोजकले जनाएको छ ।