मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले यही कात्तिक २८ गते विश्वासको मत लिने भएका छन् ।
प्रदेश सरकारमा सहभागी भएका नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारलाई दिएको समर्थ फिर्ता लिएपछि मुख्यमन्त्री यादव विश्वासको मत लिन लागेका हुन् ।
प्रदेश सभाबाट यही कात्तिक २८ गते दिउँसो १:०० बजे विश्वासको माग लिने मुख्यमन्त्री यादवले बताए ।
विश्वासको मत लिनको लागि प्रदेश सभाको बैठक बोलाउन सचिवालयलाई पत्राचार गर्न लागिएको मुख्यमन्त्री यादवको भनाई छ ।
विश्वास प्राप्त गर्न विभिन्न राजनीतिक दलहरुसँग सम्वाद जारी रहेको र विश्वासको मत लिनु अघिसम्म सम्वाद जारी राख्ने उनले बताए ।
नेपाली कांग्रेसको नेतृत्वमा सहभागी भएका एमाले र नेकपाका मन्त्रीहरुले राजिनामा दिइसकेका छन् । १०७ सदस्यीय मधेश प्रदेश सभामा सरकार गठन गर्नका लागि ५४ सांसदको समर्थन अवश्यक पर्दछ ।
मधेश प्रदेश सभामा नेपाली कंग्रेसका २२, एमालेका २३, जसपा नेपालका २७ र नेकपाका १५ सांसद रहेका छन् । त्यस्तै संघीय समाजवादी र राप्रपाका एक-एक सांसदहरू रहेका छन् ।